भैरहवा, २५ पुस ।
नीजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मायादेवी गाउँपालिका, रुपन्देहीले लामो समय देखि नीजि विद्यालयमा अध्यापन गरिरहेका एक जना शिक्षक र एक जना शिक्षिकालाई सम्मान गरेको छ ।
२९ औं प्याब्सन दिवस तथा २८ औं वार्षिक उत्सवको अवसर पारेर मायादेवी गाउँपालिका–६ बेथरी स्थित कालिका पब्लिक हाइ स्कूलमा २०४९ साल देखि अध्यापनरत शिक्षक सुनिल कुमार सिंह र सोही विद्यालयमा २०४६ साल देखि अध्यापनरत शिक्षिका रत्न मास्केलाई सम्मान गरिएको प्याब्सन मायादेवीका अध्यक्ष भरत गिरीले बताए । उनीहरुलाई दोसल्ला ओढाइ प्रशंसापत्रद्वारा सम्मान गरिएको अनुशासन समिति सदस्य मोहम्मद रमजानले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्याब्सन रुपन्देहीका उपाध्यक्ष रामदेव यादवले राज्यको गलत नीतिका कारण नीजि विद्यालय समस्यामा परेको बताए । उनले शिक्षा क्षेत्रमा योगदान गर्ने नीजि विद्यालयलाई प्रोत्साहन गर्नुका सट्टा निरुत्साहित गर्नु दुःखद भएको बताए ।
त्यस्तै प्याब्सन मायादेवीका सल्लाहकार रामकेश धवलले सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन नगरे संघर्षमा उत्रिन बाध्य हुने बताए । अर्का सल्लाहकार विष्णु थापाले प्याब्सन मायादेवीले नमुना काम गर्दै आएको बताए । त्यसै गरी सम्मानित हुने शिक्षक सुनिल कुमार सिंह र शिक्षिका रत्न मास्केले आफुहरुलाई गरिएको सम्मानले थप उर्जा प्रदान मिलेको बताए ।
प्याब्सन मायादेवीका शिक्षा प्रतिनिधि राम प्रसाद लोधको स्वागत मन्तव्य तथा सचिव लक्ष्मी प्रसाद भुषालको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका लगायतको उपस्थिति रहेको थियो ।