बुटवल, १८ असोज
धराहरा चढ्न र देख्ने अबसर नपाएकाहरुलाइ मध्यनजर गर्दै बुटवलमा धरहरा निर्माण गरिएको छ । अस्थायी संरचना भएपनि धरहराको पूर्वाधारभने निकै बलियो र बैज्ञानिक बनाइएको हो । बुटवल १० मा रहेको बुटवल मण्डपमा २२ लाखको लागतमा काठमाडौंको सुन्धारामा (भुकम्पअघि ) रहेको धरहराको झल्को दिनेगरि सेतो रंगको धरहरा निर्माण गरिएको हो । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा असोज १९ देखी २८ गतेसम्म संचालन हुन लागेको तेश्रो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलामा सो धराहरा बनाइएको छ । सो धराहरामा एकपटकमा ५० जना चढ्न मिल्ने र चढ्नेहरु कुनै दुर्घटना चोटपटक लागेमा निशुल्क उपचार सहित बिमाको ब्यबस्था पनि मिलाइएको छ । मेलाको गेटलाइ रानीपोखरीको मन्दिरको आकारमा बनाइएको प्रदर्शनी मुल आयोजक समितिका संयोजक तथा संघका अध्यक्ष प्रविण बहादुर पाठकले बताए ।
जिल्ला समन्वय समिति रुपन्देही र बुटवल उपमहानगरपालिका प्रवद्र्धकको रुपमा रहेका छन् । प्रर्दशनीमा ४ लाख भन्दा वढिलाई अवलोकन गर्ने र २० करोडको कारोवार हुने आयोजकको अपेक्षा रहेको संघका पुर्व अध्यक्ष एवं मेलाका संरक्षक खिमनारायण पराजुलीले बताए । दशैंको मुखैमा संचालन गर्न लागिएको प्रदर्शनी तथा ब्यापार मेलाको तयारी पूरा भएको छ । मेलामा जुम्लाको आलु, मार्सि चामल, कालो चामल, कदकनाथ जातको कालो कुखुराको मासु तथा अण्डा, मार्फाको स्याउ सहितको दशै सस्तो बजार पनि संचालन हुनेछ ।
नजिकिदै गरेको दशैको लागि सामान खरिद गर्न अन्यत्र धाउनु पर्ने वाध्यता हटाउन प्रर्दशनी स्थलमै दशै वजार संचालन गर्ने निर्णय भएको आयोजकको भनाइ छ ।
मेलामा साल्ट टेडिडको चिनी तथा नुन, दुग्धजन्य पदार्थ, खाद्यान्न, उच्च पहाडी क्षेत्रमा उत्पादन भएका फापर, उपभोक्ताहरुलाई लक्षित गरी उपलब्ध हुनेछन् ।
परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरी कुटिर साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्ने उदेश्यले आयोजना गर्न लागीएको प्रर्दशनीमा विभिन्न ८ वटा प्याभिलियन राखिएको छ ।
४ सय भन्दा वढि स्टल रहने प्रर्दशनीलाई विगतको भन्दा बढि आकर्षक बनाउन धरहरा, रानी पोखरी स्वरुपको प्रवेशद्धार लोपोन्मुख चर्खे रोटे पिङ ,लिङगे पिङ , चिल्ड्रेन पार्क सहित फन पार्क समेत निर्माण गरिएको छ ।
बुटवलको प्रर्दशनीले बुटवलवासीको आर्थिक विकासमा टेवा पुग्ने भएकाले सफलतापुर्वक सम्पन्न गर्नु वुटवलवासीको दायित्व भएको संघका महसचिव तथा मुल आयोजक समितिका सदस्य सचिव केशव श्रीसको भनाइ छ । मेलाको प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले उद्घाटन गर्नेछन् ।