नवलपरासी, १२ भदौ
पूर्वी नवलपरासी र पश्चिम नवलपरासी दुवै क्षेत्रमा मल अभाव देखिएको छ । यति बेला धानमा मल हाल्ने सिजन छ । धान गोडमेल गर्दै मल हाल्ने सिजन हो । तर नवलपरासीमा भने यति बेला मलको अभाव देखिएको छ । नवलपुरको कावासोतीमा रहेको कावासोती तरकारी उत्पादक सहकारी संस्थामा मात्र अहिले धानमा हाल्ने युरिया, डिएपी, पोटास जस्ता मल पाइएको छ भने अन्त कुनै पनि कृषि सहकारीमा मल छैन ्।
मल अभाव भएपछि गैडाकोटदेखि दुम्किबाससम्मका किसानहरु मल लिन कावासोती आएको कावासोती तरकारी उत्पादनक सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालले बताए। बस्यालका अनुसार दुई तीन महिन अगाडि आवश्यक भन्दा बढी ५ सय बोरा मल स्टक राखेको कारण आफूले मल बेचिरहेपनि अनेत्र कतै मल छैन।
मल नहुंदा किसानहरुलाई सास्ती भएका छन्। बस्यालले आफ्नो सहकारीमा भएको मल दुई दिन भन्दा धेरै दिनलाई पुग्न नसक्ने गरी रहेको बताए।
त्यस्तै पश्चिम नवलपरासीमा पनि मलको चरम अभाव रहेको छ। नवलपरासीमा ४६ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ। कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ्गड्ड लिमिटेडले नेपालमा आवश्यक पर्ने रासयिनक मल नेपाल भित्र्याउने गर्दछ। यस बर्षका मल नेपालले मगाई सकेको भएपनि कोलकोत्ता रोकिएको कारण नेपालमा मल अभाव भएको हो ।
देशभर युरिया मल अभाव भएपछि आर्गेनिक मलको माग बढ्न थालेको छ। आर्गेनिक मलप्रति विस्तारै किसानको आकर्षण बढ्दै गएकोले युरिया मलको ठाउंमा आर्गेनिक मलको माग बढेको हो ।
युरिया मल ल्याउंदा भारतले कुनै न कुनै बाहानामा मल ल्याउने ढिलो गराइदिने र युरिया मलको तुलनामा माटोलाई आर्गेनिक मल राम्रो हुने गरेको हो ।
कावासोतीको हाटबजारमा सारु एभ्रो सेन्टर सञ्चालन गरेर आर्गेनिक मल बेच्दै आएका लालबहादुर सारु भन्नुहुन्छ – किसानहरु नबुझेर अझै आर्गेनिक मललाई झट्ट विश्वास नगरेको पाइए पनि अहिले आर्गेनिक मल प्रति विस्तारै विस्वास बढ्दै गएको छ । जतिले प्रयोग गर्नुभएको छ उहाँहरु सन्तुष्टी भएर आर्गेनिक मल नै प्रयोग गर्न थालेका छन् ।
नवलपरासीमा केही स्थानमा आर्गेनिक मल आफै उत्पादन गर्ने गरिएको छ भने व्यवसायिक रुपमा विक्री गर्नका लागि चितवनबाट आर्गेनिक मल ल्याउनु पर्ने बाध्यता रहेको छ ।
युरियाले चाँडो प्रतिक्रिया जनाउंछ, आर्गेनिकले ढिलो, युरियाले माटो विर्गादै जान्छ, आर्गेनिकले माटोलाई उब्जाउ बनाउंदै जाने अध्यक्ष लेखनाथ बस्यालले बताउनुभयो । मल अभाव बढेपछि यस बर्ष धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ ।