बुटवल, बैशाख ६ ।
रक्षामन्त्री वालकृष्ण खांणले घोषित मितिमा नै स्थानीय निर्वाचन हुने बताएका छन् । ‘चुनाव गराउन सरकार प्रतिबद्ध छ, निर्वाचन सार्ने कुराको कल्पना पनि गर्न सकिन्न’ । खांणले भने ।
पे्रस युनिय रुपन्देहीले मंगलबार बेलुका बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले स्थानीय निर्वाचन गर्नु अहिलेको राष्ट्रिय आवश्यकताको विषय भएको समेत उनले प्रष्ट पारे ।
सरकारले शान्तिपूर्ण रुपमा निर्वाचन गराउने दायित्व सहित अघि बढेको भन्दै मधेशी मोर्चा र अन्य राजनीतक दललाई पनि निर्वाचनमा सहभागिता गराउने विषयमा सरकारले वार्ता तथा सम्बाद गरिरहेको जानकारी दिए ।
शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सरकारले सबै सुरक्षा निकायहरुलाई परिचालन गरेकाले निर्वाचन हुन्छकी हुन्न भनेर आशंका गर्न नहुने उनको कथन छ ।
नेपाली कांगे्रसका केन्द्रिय सदस्य समेत रहेका खांणले स्थानीय निर्वाचन सहज रुपमा सम्पन्न गराउन कांगे्रसले सरकारमा भएका र नभएका सबै दलसंग सम्बाद गररैअघि बढ्ने बताए ।
‘जनतालाई शक्ति सम्पन्न गर्ने काममा कसैले पनि तलमाथि गर्नु हुदैन ।’ उनले भने ।
पूर्व सहमतिमै ल्याएको संविधान संशोधनको प्रस्तावलाई मधेशी दलले अस्वीकार गर्नु आश्चर्यको विषय भएको उल्लेख गर्दै मुलुकको आवश्यकता र लोकतान्त्रिक मुल्य मान्यतालाई स्थापित गर्नकालागि चुनावबाट कोही पनि चुक्न नहुने उनको भनाई छ ।
निर्वाचन बिथोल्ने गरी भएका निर्णयले मुलुक र लोकतान्त्रिक मुल्य मान्यतालाई राम्रो नगर्ने र मुलुकको शान्ति र समृद्धिको यात्रालाई समेत विथोल्ने भएकाले संविधान कार्यान्वयनको अभियानमा सबैलाई लाग्न आग्रह गरे ।