डिसेम्बर, सिड्नी ।
युवा उमेरमै ज्यान गुमाएका प्रतिभाशाली पत्रकार सूर्यकुमार क्षेत्रीका छोरा सुसनकुमार क्षेत्रीको माध्यामिक तहसम्मको पठनपाठनको जिम्मेवारी अस्ट्रेलिया निबासी नेपालीहरुले लिएका छन् ।
शनिबार बिहान सिड्नीको कोग्राहमा भएको एक बैठकमा उक्त निर्णय भएको हो । नेपालिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको यो बैठकले पत्रकार क्षेत्रीका छोराको पठनपाठनका लागि मासिक दुर्इ सय अस्ट्रेलियन डलर दिने निर्णय गरेको हो । पत्रकार क्षेत्रीका छोरा सुसन अहिले भीएस निकेतनमा तीन कक्षामा अध्ययनरत छन् ।
यो सहयोग अर्को शैक्षिक सत्रदेखि सुरु हुने छ । बैठकमा आमन्त्रण गरिनुभएका प्रेस यूनियन नेपालका अध्यक्ष बद्रि सिग्देलले यो निर्णयका लागि उक्त संस्थालाई धन्यबाद दिएका छन् । बैठकपछि कुरा गर्दै अध्यक्ष सिग्देलले भने – ‘नेपालमा जन्मेर अस्ट्रेलिया बस्ने साथीहरुले यो निर्णय मार्फत हामी बिचको साइनो जोड्ने काम गर्नुभएको छ, नेपालमा पत्रकारहरु भौतिक तथा आर्थिक रुपमा संकटमा भएका बेला यो निर्णय निकै महत्वपूर्ण छ ।’
बैठककै क्रममा पत्रकार सूर्यकुमार क्षेत्रीका छोराको पठन पठनका लागि गरिने बार्षिक सहयोगबारे मन्च र यूनियनबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । मन्चका तर्फबाट अध्यक्ष बिबेक थापा र यूनियनबाट अध्यक्ष सिग्देलले संयुक्त हस्तक्षर गरेका छन् । नेपालमा यूनियनमार्फत गरिने सहयोग बार्षिक एक लाख चौरानब्बे हजार नेपाली रुपैयाँ हुनेछ । जसबाट दिबंगत पत्रकार क्षेत्रीका छोरालार्इ लाग्ने सम्पूर्ण शैक्षिक खर्च व्यहोरिने छ ।
सहयोग प्रत्येक ६ महिनामा हस्तान्तरण गरिने बताइएको छ । योसँगै नेपालका पत्रकारलार्इ तालिम तथा ब्यक्तित्व बिकासका लागि पनि मञ्चले निरन्तर सहयोग गर्ने छ । नेप्लिज अस्ट्रेलियन डेमोक्रेटिक फोरममा महासचिब माधव गैरेका अनुसार संगठन बिस्तारसम्बन्धि उपाध्यक्ष पूर्णनाथ घिमिरेको प्रतिबेदन आजैको बैठकले पारित गरेको छ ।
अब मन्चलार्इ अस्ट्रेलियाका अन्य राज्यमा संगठन निर्माणको ढोका खुलेको महासचिब गैरेले बताए । नेपालमा नेपाली कांग्रेससँग नजिकको राजनीतिक बिचार राख्ने यो मञ्चले आगामी २०१७ को जनवरी ७ मा सिड्नीको आस्फिल्ड पार्कमा नेपालको राष्ट्रिय मेलमिलाप दिवसको सिको गर्दै एक समारोह आयोजना गर्ने निर्णय पनि आजैको बैठकले गरेको छ ।