मोबाइल फोनको डिजाइन धेरै परिर्वतन भइसक्यो । अब त हरेक महिना जस्तो नयाँ नयाँ मोडल सार्वजनिक हुन्छ । कार, बस र मोटरसाइकलको पनि डिजाइनमा परिवर्तन गरेर नयाँ प्रविधि भित्र्याइएको छ । तर, रिक्साको डिजाइनमा कुनै परिर्वतन भएको छैन ।
हिजो जे थियो, त्यही छ । छोटो दुरीको यात्राका लागि उपुयक्त भएपनि रिक्साको डिजाइन परिवर्तनमा कसैले पनि लगानी गर्न चाहँदैनन् ।
एसियाली विकास बैंक (एडीबी) को सहयोगमा परम्परागत रिक्साको विकल्पमा नयाँ प्रविधिमा आधारित गेयरसहितको रिक्सा तयार भएको छ र, यो अब छिट्टै नेपालमा पनि भित्रने भएको छ ।
एडीबीमार्फत एक अमेरिकी सवारी निर्माता कम्पनीले नेपालका लागि आधुनिक किसिमको स्मार्ट रिक्साको डिजाइन तयार गरेको छ । यो डिजाइनलाई ६ महिनाभित्र अन्तिम रुप दिएर टेण्डर गर्ने एडीबीको तयारी छ ।
एडीबीले ‘पाइलट प्राेजेक्ट’का रूपमा पहिलो चरणमा ६० वटा आधुनिक प्रविधिको रिक्सा नेपाल ल्याउन योजना बनाएको छ । जसमध्ये मध्ये ३० वटा काठमाडौं र ३० वटा लुम्बिनीका सडकमा गुडाइनेछ । यो रिक्सा हेर्दा आकर्षक, चलाउन सजिलो, चढ्न आरमदायी र किफायती हुने कम्पनीको दाबी छ ।
सवारी निर्माता कम्पनीहरुले कार, मोटरसाकल बस लगायतका डिजाइनमा परिवर्तन गरेर नयाँ प्रविधि भित्र्याएपनि रिक्सामा नयाँ प्रविधि नआएकाले एडीबीले स्मार्ट रिक्सा नेपाल ल्याउन लागेको टिम लिटर स्क्रोडरले बताए ।
‘विकासशील देशमा रिक्सा छोटो दुरीका लागि प्रभावकारी सार्वजनिक यातायात हो । तर, यसमा नयाँ प्रविधिहरु नआएकाले हामीले नयाँ योजना तयार पारेका हौं’ उनले भने ।
कम्पनीका एक अधिकारीले भने ‘रिक्सालाई स्मार्ट फोन जस्तो हेरक तवरमा उत्कृष्ट बनाउन सकिन्छ । त्यसैका लागि हामीले काम गरेका हौं ।