पछिल्लो समय युवायुवतीले सामाजिक संजाल फेसबुकमार्फत प्रेमको प्रस्ताव गर्ने र त्यसैको बहानामा ठगी गर्ने क्रम बढ्दो छ। नक्कली आइडी खोलेर होस् वा सक्कली आइडीबाट, ठगी गर्नेहरुमा युवाहरुभन्दा युवतीहरु बढी रहेको उजुरी प्रहरीमा परेको छ।
नक्कली डाक्टर भनेर एक दर्जन भन्दा बढी युवाहरुलाई प्रेमको नाटक गरेर ठग्ने डाक्टर सुहाना केसी उर्फ बुटवलकी भगवती केसीलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको केही दिनपछि काठमाडौं प्रहरी परिसरले क्यानेडियन युवासँग फेसबुकमा प्रेम गरेर १ करोड ठगी गरेको आरोपमा बाफलकी एक युवतीलाई पक्राउ गरेको छ। केसीले नक्कली फेसबुक एकाउन्ट खोलेर १ दर्जनभन्दा बढी युवाहरुसँग ठगी गरेको एसएसपी सर्वेन्द्र खनालले बताए। फेसबुक एकाउन्ट खोल्ने, घनाढ्य युवाहरुसँग प्रेमको नाटक गरेर ठगी गरेपछि उनलाई प्रहरीले भारतको नयाँदिल्लीबाट पक्राउ गरेको थियो।
फेसबुकबाट प्रेम गरेर सिंगापुरे लाहुरेसँग विवाह गरेको र सिंगापुरे लाहुरे सिंगापुर नै फर्किएपछि ३५ लाख ठगेको आरोपमा काठमाडौं प्रहरीले अहिले अर्की एक युवतीलाई पक्राउ गरेको छ। एक वर्षअघि सिंगापुरे लाहुरे वीरेन्द्र तामाङ काठमाडौं आएका बेला बौद्ध जोरपाटीकी २३ वर्षीया सुमन लामासँग विवाह गरेका थिए। विदा कम भएका कारण उनी धेरै दिन काठमाडौं बस्न सकेनन्। विवाह भएको २ सातापछि वीरेन्द्र एक्लै सिंगापुर उडे।
‘राम्रोसँग बस्नु’ भन्दै उनले छिट्टै आफू आएर सिंगापुर लैजाने बताए। विवाह गरेको ११ महिनापछि वीरेन्द्र श्रीमतीलाई पनि सिंगापुर लैजान भन्दै २ साताअघि काठमाडौं ओर्लिए। श्रीमती बसेको कोठामा जाँदा ३ दिनदेखि नै सुमनले कोठा छाडेको जवाफ घरबेटीले दिए। कोठाको सामान पनि सुमनले ३ दिन अघि नै अन्यत्रै सारेकी थिइन्।
विमानस्थलमा लिन आउली भनेकी श्रीमती कोठामा पनि नभएपछि उनी रनभुल्लमा परे। काठमाडौं प्रहरी परिसर पुगेर उनले घटनाबारे जानकारी गराए। प्रहरीले सुमनलाई काठमाडौंको बौद्धबाट पक्राउ गर्यो। वीरेन्द्रले सिंगापुरबाट एक वर्षको अवधिमा ३५ लाख रुपैयाँ उनलाई पठाएको बताएका छन्। सुमनले भने २० लाख मात्र आफूले बुझेको र बाँकी घर खर्च दिएको हिसाव नराखेको वताइन्। वीरेन्द्रसँग सामान्य कुरामा ठाक्कठुक्क परेको भन्दै सुमनले घरबाट बाहिरिएको बताइन्।
वीरेन्द्रसँग विवाह गर्नुअघि नै सुमनले अर्के युवासँग विवाह गरेको प्रहरी अनुसन्धानले देखाएको छ। पहिला नै अर्केसँग विवाह गरेकी कारण वीरेन्द्र उनलाई सिंगापुर लैजान आउने थाहा पाएपछि उनी भागेको प्रहरीले बताएको छ। विवाहित हुदाँहुँदै अर्केसँग विवाह गरी ठगी गरेको भन्दै प्रहरीले सुमनमाथि ठगीको मुद्दा चलाएको छ। काठमाडौं प्रहरी परिसरका डिएसपी दिनेश आचार्यले सुमन र वीरेन्द्रको मुद्दा हेरिरहेका छन्।
सामाजिक संजाल फेसबुक प्रयोग गरेर प्रेमको नाटक गर्ने र ठगी गर्नेहरुविरुद्ध उजुरीहरु बढ्दैगएको भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ। अपराध महाशाखाका एसएसपी खनालले सामाजिक संजालबाट आउने प्रेम प्रस्तावमा सजग हुन आग्रह गरे। उनले फेसबुक चलाउनेहरुले फ्रेन्डस् रिक्वेष्ट पठाएकाहरुको युजर सही हो कि गलत त्ये थाहा पाउन आवश्यक भएको बताए। लालायित भएर र अरुको बहकाउमा लागेर बनेर सामाजिक सन्जालको दुरुपयोग गर्न नहुने खनालको भनार्इ छ।
प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापाले भने नचिनेको मानिसलाई फेसबुकमा साथी नबनाउन र विभिन्न प्रलोभनमा नफस्न आग्रह गरे। फेसबुक चलाउनमात्र जान्ने होइन, जथाभावी चलाए कारबाही हुन्छ भन्ने पनि जान्नुपर्छ, एसएसपी थापाले भने। फेसबुकबाट प्रेम गर्दै ठगी गर्नेहरुविरुद्ध प्रहरीले घटना हेरेर हेरेर ठगी वा साइबर क्राइमको मुद्दा चलाउने गरेको छ।