गत बैशाख १२ गतेको विनासकारी भूकम्पले पुर्याएको क्षतिमध्ये निर्जीबन बीमा कम्पनीहरुले ७ अर्ब ७३ करोड रुपैयाँ भुक्तानी दिएका छन् । माघ ७ गतेसम्ममा बीमा कम्पनीहरुले सो बराबरको भुक्तानी दिएको नियामक बीमा समितिले जनाएको छ ।
बीमा कम्पनीहरुले दिएको यो भुक्तानी कूल दाबी रकमको ४२.२९ प्रतिशत हो । १८ अर्ब २८ करोड रुपैयाँ भुक्तानीका लागि दाबी गर्दै बीमा कम्पनीहरुमा १७ हजार ५ सय आवेदन परेका थिए ।
संख्याका आधारमा भने भूकम्पसँग जोडिएका दाबीमध्ये ७७.७८ प्रतिशतको भुक्तानी भइसकेको बीमा समितिका निर्देशक राजुरमण पौडेलले अनलाइनखबरलाई जानकारी दिए । पौडेलका अनुसार १७ हजार ५ सय ७४ दाबीभम्ये १३ हजार ६ सय ५९ वटा दाबीको भुक्तानी भएको छ । बीमा कम्पनीहरुले कूल भुक्तानीको १६.२६ प्रतिशत पेश्की भुक्तानी दिएको समितिले जनाएको छ ।
‘भूकम्पको बीमा दाबी भुक्तानीको अवस्था सन्तोषजनक नै छ,’ निर्देशक पौडेलले भने- ‘जलविद्युतलगायतका ठूला आयोजनाहरुको भुक्तानी नभएकाले संख्याका आधारमा ७७ प्रतिशत भुक्तानी हुँदा पनि रकममा भने ४२ प्रतिशत मात्रै भुक्तानी भएको देखिएको हो ।’
ठूला आयोजनाहरुको काम सुरु भएपछि भुक्तानी हुने उनले बताए । भूकम्पपछि मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण धेरै आयोजनाहरुको निर्माण कार्य ठप्प भएको छ । बीमितले बीमा भुक्तानी छिटो पाउन भनेर बीमा समितिले भूकम्पसँग जोडिएका दाबीलाई सरल र सहजै भुक्तानी दिन निर्देशन नै दिएको थियो ।