भूकम्पपछि पुनःनिर्मित प्रमुख कार्यकारी प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको आज उद्घाटन हुँदैछ ।
सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रवलीकरण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सिंहदरबार भवनको उद्घाटन गर्दैहुनुहुन्छ ।
पूर्व, उत्तर र दक्षिणी भागको प्रवलीकरण र आन्तरिक साजसजावट समेत सम्पन्न गरेर उद्घाटनको तयारी गरिएको हो । उद्घाटनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेत आजै सार्ने तयारी भएको छ ।
भुकम्पपछि अन्यत्र सारिएको प्रधानमन्त्री कार्यालय ७० महिनापछि सिंहदरबारको मूल भवनमा सर्न लागेको हो । पूर्वी भाग प्रवलीकरणको उद्घाटनसँगै आज प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तीन वर्षे उपलब्धिबारे पनि सिंहदरबार मूल भवनको डबलीबाटै जानकारी गराउनुहुने कार्यक्रम समेत रहेको छ ।
विक्रम सम्वत १९६० सालमा तत्कालिन प्रधानमन्त्री चन्द्रशम्सेर जबराको पालामा निर्मित ऐतिहासिक सिंहदरबार भवन एक अत्यन्तै कलात्मक युरोपमा विकास भएको न्यू क्लासिकल शैलीको नेपालको मुख्य प्रशासनिक भवन हो ।
सिंहदरबारका तीन भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भएपनि पहिलो हप्तामै काम सकिएको छ । गौरीशर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरेको हो । उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको ८७ करोड लागतमा सम्पन्न भएको जनाईएको छ ।
पुननिर्माण गर्दा नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री प्रयोग गरी संरचनालाई भूकम्पीय जोखिम धान्न सक्ने गरी निर्माण गरिएको छ ।
उत्तर, दक्षिण र पुर्वी खण्डलाई नयाँ प्रविधि तथा आधुनिक निर्माण सामग्री जस्तै सिमेन्ट, बालुवा, छड, बोण्डिङ केमिकल प्रयोग गरी पुरानै स्वरुप नबिग्रने गरी प्रवलीकरण गरिएको छ ।
आरसिसी, एङ्करिङ, स्ट्रक्चरल स्टील तथा फलामे छडको प्रयोग गरी भविष्यमा आउन सक्ने सम्भावित भूकम्पीय जोखिमलाई धान्न सक्ने गरी सुरक्षित गरिएको प्रधिकरणले जनाएको छ । उत्तर, दक्षिण तथा पूर्वी मुख्य भागलाई सुरक्षित गरे पश्चात् भवनलाई अत्याधुनिक सुविधा सम्पन्न बनाउन यान्त्रिक, विद्युतीय प्लम्बिङ, सूचना प्रविधि र सुरक्षाको व्यवस्थासमेत गरिएको एकाइले जनाएको छ ।
सिसीटिभी जडान, बगैँचालगायत सौन्दर्यकरणका काम सम्पन्न गरिएको छ । हालको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मौजुदा सङ्गठन संरचनाअनुरुप आवश्यकपर्ने कार्यकक्ष तथा बैठक कक्षसमेत निर्माण गरिएका छन् ।
साथै फिनिसिङ तथा फर्निचरकोसमेत पर्याप्त तथा उपयुक्त ढङ्गले व्यवस्था गरिएको छ । तर भवनको अत्यन्तै सुन्दर भाग पश्चिमी मोहडा भने पुरानै स्वरुपमा निर्माण भइरहेको छ ।
काठ, फलाम, सुर्की, चुना आदि प्रयोग गरी पुरातात्विक महत्व नबिग्रने गरी प्रबलीकरणको काम भइरहेको छ र आगामी असारसम्ममा सक्ने गरी काम भइरहेको पुनरनिर्माण प्राधिकरणले जनाएको छ ।-