काठमाण्डौ – आउँदाे मार्च महिनामा ओमानमा हुने तय भएको नेपाल, ओमान र अमेरिकाबीचको आईसीसी पुरुष क्रिकेट वर्ल्ड च्याम्पियनशिप लिग-२ अन्तर्गतको एकदिवसीय शृङ्खला स्थगित भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रवार सूचना निकालेर ओमानमा हुने शृङ्खला स्थगित भएको जनाएको हो । ओमानमा हुने शृङ्खला मार्च १९ देखि २८ सम्म हुने तालिका थियो ।
यस्तै आईसीसीले अप्रिलमा हुने भनिएको पपुवा न्यु गिनी, ओमान र स्कटल्याण्डको शृङ्खला पनि स्थगित गरिएकाे जनाएकाे छ ।
मे महिनामा हुने भनिएको पपुवा न्यु गिनी, अमेरिका र नामिबियायाको शृङ्खला पनि स्थगित गरिएकाे आईसीसीले जनाएकाे छ । कोरोना सङ्क्रमण जोखिम र क्वरेण्टीनको प्रावधानका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अर्को सूचना नआएसम्मका लागि शृङ्खला स्थगित भएको क्यानले जनाएको छ ।
शृङ्खलाका लागि नेपालले कीर्तिपुर मैदानमा प्रशिक्षणसमेत सुरु गरिसकेको थियाे ।
