२८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् ।
नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको वृहत् जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै अध्यक्षद्वय प्रचण्ड र नेपालले ओलीको धम्कीबाट खुट्टा नकमाउन निर्वाचन आयोगलाई आग्रह गरे ।
सम्बोधनका क्रममा प्रचण्ड ‘आयोगका कोही कोही मान्छे.. बढी नभनौं, भन्यो भने फेरि बिग्रिने हो कि’ भन्दै रोकिएका थिए । तर, सहभागीहरुको हुटिङपछि उत्साहित भएका उनले केन्द्रीय कमिटीको ७० प्रतिशत हामीसँग छ भनेर जाँदा विवाद सुरु भएको १० दिन पनि नभएको बताए । प्रचण्डले भने, ‘त्यसलाई हिसाब नगर्ने, केपी ओली गएर धम्क्याउने वित्तिकै त्यसलाई हिसाब गर्नुभयो भने तपाईको खुट्टी देख्छ नेपालले ।’
प्रचण्डले चेतावनी दिँदै भने, ‘सजिलो नठान्नुहोला । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ ।’ प्रचण्डले संवैधानिक निकायमा पुगेकाहरुले खेलाँची ठान्दा देश र जनताले दुःख पाउने चेतावनी दिए ।
आयोगसँगै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेरिरहेको सर्वोच्च अदालततर्फ संकेत गर्दै प्रचण्डले आफूले बोल्दा (अदालतको) अपमान गरेको आरोप पनि लाग्ने गरेको भन्दै भने, ‘मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर ।’
आफ्नो पक्षले गरेको सभामा भएको उपस्थितिले पनि अदालतलाई सहज हुने प्रचण्डले दाबी गरे । ‘संविधान, लोकतन्त्र र गणतन्त्रको पक्षमा फैसला गर्न भन्ने म ठान्दछु’ उनले भने, ‘त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन ।’
प्रधानमन्त्री केपी ओलीको निरंकुश र लोकतन्त्र विरोधी सनकसँग डराएर फैसला आउँछ भन्ने विश्वास नरहेको, तर संविधानको बचाउने पक्षमा फैसला नआए ग्रीन रिभोलुसन (शान्तिपूर्ण क्रान्ति) हुने प्रचण्डको चेतावनी छ ।
संवैधानिक निकायहरुले डर धाक धम्की नहेरुन्, स्वतन्त्र ढंगले काम गरुन् भन्ने चाहेको बताउँदै उनले भने, ‘निर्वाचन आयोग खुट्टा नकमाऊ, काइते कुराको पछि नलाग ।’
अर्का, अध्यक्ष माधवकुमार नेपालले पनि प्रधानमन्त्री ओलीले ‘पहिलो अध्यक्ष म नै हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन’ भनेर संवैधानिक निकायलाई धम्क्याएको आरोप लगाए ।
पार्टीमा कोही पहिलो अध्यक्ष नभएको भन्दै उनले पार्टीको विधान, दस्तावेज, सकुर्लर र निर्णय हेर्न निर्वाचन आयोगलाई आग्रह गरे । उनले भने, ‘त्यसमा शंका छ भने ४४१ लाई बोलाएर एक–एक व्यक्तिको टाउको गने हुन्छ ।’
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्ह, झण्डालगायतका विषयमा विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुने व्यवस्था रहेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले त्यसको हेक्का राख्न आयोगलाई आग्रह गरे ।
वरिष्ठ नेता झलनाथ खनालले पनि प्रचण्ड र माधव नेपालसँग मिल्दोजुल्दो भाषामा निर्वाचन आयोगलाई नेकपाको वैधानिकता विवादमा नअल्झन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीको धम्की नभई कानून हेर्न सुझाव दिएका खनालले चेतावनीको भाषामा भने, ‘आधिकारिकताको प्रमाण दिनबारे आयोगलाई सकस परेको छ । तर, कहाँ कानून मिलाउनु पर्ने हो, मिलाउनुहोस्, ऐन मिलाउनुहोस्, प्रक्रिया मिलाउनुहोस् । ढिलो गर्दा अप्ठ्यारो आउन सक्छ ।’