२८ माघ, काठमाडौं । काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न पाइने बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा आयोजना गरेको आमसभामा नेतृ झाँक्रीले राष्ट्रपति जस्तो सम्माननीय संस्था आफूहरुको बलिदानीले प्राप्त भएको र त्यस संस्थाविरुद्ध बोल्ने दुस्साहस आफूले नगरेको बताइन् ।
‘महिला अस्मिता त त्यतिबेला बलात्कृत भएको छ, जतिबेला निर्मला पन्त, भागरथी भट्ट जस्ता किशोरीहरु बलात्कृत भएका छन्, उनीहरुको हत्या भएको छ’ उनले अघि भनिन् ।
राष्ट्रपतिबारे आफूले गरेका टिप्पणीले गर्दा महिला हिंसा भएको भन्दै विरोध भएकोतर्फ इंग्गित गर्दै उनले भनिन्, ‘तानाशाह बन्दै गरेको अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिविरुद्ध बोल्न पाइन्छ । यहाँ महिला अस्मिताको प्रश्न आउँदैन ।’
अखिल नेपाल महिला संघलाई विद्या भण्डारीले १८ वर्षसम्म प्राइभेट कम्पनी बनाएको र त्यसका सदस्यहरुले महिला अस्मिताको प्रश्न उठाएको भन्दै उनले अघि भनिन्, ‘मलाई जन्न मन छ, भागरथीहरुका हत्याराहरुलाई कारबाही गर भनेर गृह मन्त्रालय पुगे कि पुगेनन् ?’
नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको बताइन् । बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भने, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’
आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।