बैतडीमा गएकाे बिहीवार मृत अवस्थामा भेटिएकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ ।
डीआईजी सुवेदीले सामूहिक बलात्कार हो वा होइन भन्नेबारेमा थप परीक्षण भइरहेको जानकारी दिनुभयाे । ‘हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौँ’, उहाँले भन्नुभयाे, ‘प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ । पोस्टमार्टम रिपोर्ट प्रहरीलाई दिइएको छ । बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । घाँटी निमोठेको र अन्य केही भित्री चोटहरू पनि छन् । थप अनुसन्धान भने जारी छ ।’
गएकाे बुधवार विद्यालयबाट फर्किने क्रममा हराएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ ।
यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।