बांके लम्बिनी प्रदेशको टीम छनोटकालागि भैरहेको क्रिकेट प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ ।लमहीमा भएको खेलमा दाङलाई सात विकेटले पराजित गर्दै बाँके बिजयी भएको हो । टस जितेर ब्याटिङ्गमा आएको दाङले २९ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ११ रन बनाएको थियो । उसकालागि कमल ओलीले २९ र तुल बहादुर थापाले २१ रन जोडे ।
अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् । बलिङ्गमा बाँकेका आकाश बिष्ट र दिपेन्द्र रावटले तीन-तीन विकेट तथा सिद्धार्थ साही र अजय साहनीले दुई-दुई विकेट लिन सफल भए । एक सय १२ को लक्ष्य बाँकेले तीन विकेटको क्षतीमा २३ दशमलव पाँच बलमा पूरा गर्यो । जसमा प्रनिज थापाले ७० रोहन केसीले २८ रन बनाए । दाङका कमल ओली, तुल बहादुर थापा र राजवीर सिंहले समान एक-एक विकेट लिएका थिए । म्यान अफ दी म्याच प्रनिज थापा घोषित भए । यता भैरहवामा भएको समूह ए अन्तरगतको खेलमा कपिलवस्तुले पाल्पालाई दुई विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको पाल्पाले निर्धारित ३२ ओभरको खेलमा सबै विकेट गुमाएर ९५ रन मात्रै बनायो ।
जसमा रुपेश बश्याल (बी) र नरेशकुमार सार्कीले समान २२/२२ तथा समीर मल्ले १३ रन बनाए । उसलाई सस्तैमा रोक्न बलिङमा कपिलबस्तुका वसिर अहम्मदले चार, दुर्गेश कुर्मीले तीन, गंगेश हरिजनले दुई र रवि शुक्लाले एक विकेट लिए । जवाफी ब्याटिङ गरेको कपिलवस्तुले २८ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि राज अग्रहरीले २६, रवि शुक्लाले १४ र अमृत पौडेलले १० रनको योगदान गरे ।
बलिङ्गमा पाल्पाका सुरेश गोदारले र रुपेश बश्याल (ए)ले तीन/तीन र श्रीधर बश्यालले दुई विकेट लिए । कपिलवस्तुका वसिर अहम्मद म्यान अफ द म्याच भए । भोलि पाल्पा र रुपन्देहीबीच प्रतिस्पर्धा हुनेछ ।