हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने तराई तथा दुर्गम भेगका विभिन्न जिल्लाको उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको हो ।
बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कणर्ले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए । उनका अनुसार तराई तथा पहाडी क्षेत्रका विमानस्थल ८८ उडान तालिका रहेकामध्ये ४० उडान रद्द भए ।आज पनि ८८ उडान तालिका रहेको छ । बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सलगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ ।
उडान नभएपछि गन्तव्य हिँडेका यात्रु दिनभरजसो विमानस्थलमा अलपत्र परेका छन् । मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका तराई भू-भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेको छ ।
विमानको समयमा तराईमा लागेको हुस्सु कुहिरो अपरान्हसम्म रहने र हुस्सुका कारण राम्रोसँग घाम नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनका साथै यात्रामा पर्नसक्ने जोखिम र अन्य प्रभावबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज काठमाडौको अतिकतम तापक्रम २१ दशमलव ५ र न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्रिसेल्सियस रहेको छ ।