रुपन्देहीका उद्योगी व्यवसायीले राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा सधैं आफूहरु समस्यामा परेको बताएका छन् । सोमबार नेपाल रोडाढुंगा उद्योग व्यवसायी संघ, रुपन्देहीले भैरहवामा आयोजना गरेको नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित पदाधिकारी तथा महासंघका केन्द्रिय सदस्यहरुलाई सम्मान कार्यक्रममा बोल्ने उद्योगीले राज्यको परिपूरक आफूहरु भए पनि सहयोग पाउनुपर्ने ठाउँमा उपेक्षित गरिएको बताए । महासंघको लुम्बिनी प्रदेशको नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद शर्माले संचार, सरकार र उद्योगी व्यवसायी एकअर्काको परिपूरक भएको तर सोहीअनुसारको ससमन्य नभएको बताउनुभयो । उहाँले आफूले त्रसर व्यवसायीको मर्का र समस्या बुझेको बताउँदै सरकारसँग सहकार्य गरेर समस्या समाधानमा लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य महेन्द्रकुमार श्रेष्ठले उद्योगी व्यवसायीप्रति राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म क्रसर व्यवसायीका समस्या समाधान नहुने बताउनुभयो । महासंघका केन्द्रिय कार्यकारिणी सदस्य राजेशकुमार अग्रवालले हरेक क्षेत्रले व्यवसायीलाई हेर्ने दृष्टिकोणमा नै परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले करोडौं लगानी गरिएको व्यवसायलाई व्यवस्थित गर्नुपर्नेमा सधै आक्षेप मात्र लगाएर नहुने भन्दै राज्य र व्यवसायी मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले क्रसर उद्योग बन्द गरिए हरेक क्षेत्रमा समस्या आउने भन्दै राज्यले व्यवस्थान गर्नुपर्ने माग गर्नुभयो । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले विगतमा क्रसर व्यवसायी र राज्यपक्षबाट केही गल्ती भएको जनाउँदै विगतका गल्ती औल्याएर अब समस्या समाधानतर्फ अघि बढ्नुको विकल्प नहुने बताउनुभयो । रोडाढुंगा व्यवसायी संघका अध्यक्ष गोपाल ज्ञवालीले राज्यले क्रसर व्यवसायीलाई न मार्ने न बाँच्ने आधार नै दिएको बताउनुभयो । उहाँले महासंघ मार्फत क्रसर व्यवसायीका समस्या समाधानमा पहल गर्न आग्रह गर्नुभयो ।