संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड-माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ । भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई केहीबेरमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।
सो अबसरमा बोल्दै नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए ।छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।
नेकपा (प्रचण्ड-माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताएका छन् । मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् । ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए।