रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको छ । नापी कार्यालय रुपन्देही ३ नम्बर नापी टोलीको प्राविधिक सहयोगमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले बताए ।
स्थानीयलाई शुक्रबार जग्गाधनी प्रमाणपूर्जा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष धु्रव नारायण चौधरीले वर्षौदेखि पूर्जाबिहीन नागरिकले अहिले पाएको बताए । उनले एकै पटक जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न नसकिए पनि यो कार्यलाई निरन्तरता दिदै जाने बताए । यस अघि पनि बेथरी, उचमी लगायतका गाउँब्लकमा जग्गाधनी प्रमाणपूर्जा वितरण गरिसकिएको अध्यक्ष चौधरीले बताए ।गाउँपालिका उपाध्यक्ष तारादेवी यादवले जग्गाधनी प्रमाणपुर्जामा प्राविधिक सहयोग गर्ने नापी कार्यालयलाई धन्यवाद व्यक्त गरिन् ।नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत अजित कुमार कुंवरले गाउँपालिका र कर्मचारीको अथक प्रयासबाट जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको बताए । उनले धेरै वर्षपछि नागरिकहरु आफ्नो जग्गाको मालिक बन्नुभएको बताए ।

नापी कार्यालय रुपन्देहीका नापी अधिकृत शालिकराम लम्सालले गाउँब्लकको पुर्जा वितरण कार्य नेपाल सरकारको नीति अनुसार नापी कार्यालयले गर्दै आएको र त्यसैको निरन्तरता भएको बताए । उनले जग्गाधनी प्रमाणपत्रपूर्जा पाएपछि अब नागरिकलाई धेरै सजिलो भएको बताए । गाउँपालिकाले सहयोग गरेकोमा उनले धन्यवाद दिए ।
मायादेवी गाउँपालिका वडा नम्बर १ अन्तर्गत साविक खुदावगर १ ‘क’ को कित्ता नम्बर १९४ र १९६ सुरवल गाउँ ब्लकको ३० जनालाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका नापी, नक्शा तथा भुमि व्यवस्थापन शाखाका अमिन हृदयेश वनियाले जानकारी दिए ।