दाङ तुलसीपुरका एक युवक प्रतिवन्धित लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । तुलसीपुरको पुरानो मानपुर ६ घर भइ हाल तुलसीपुर उपमहागरपालिका वडा नं. ६ हात्तीखौवामा डेरा गरि बस्ने राजेश नेपाली ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरीले नेपालीलाई मंगलवार बेलुका साढे ६ बजेतिर गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । शंकाष्पद रुपमा हिडिरहेका नेपालीको शरिर खानतलासी गर्ने क्रममा दश रुपैंयाको नोटमा बेरेर राखेको अवस्थामा ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ । नोटमा बेरेर तीन वटा प्लाष्टिकको पुडियामा बनाई ब्राउन सुगर नेपालीले लगाएको पाइन्टको पकेटमा राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै हात्तीखौवास्थित उनको कोठामा खानतलासी गर्ने क्रममा फलामको डिब्बा भित्र प्लाष्टिकमा थप दूई पुडिया ब्राउन सुगर फेला परेको पनि प्रहरीले जानकारी दिएको छ ।
नेपालीको साथवाट सबै गरि पाँच पुडिया ब्राउन सुगुर फेला परेको र त्यसको तौल ५ सय ११ मिलिग्राम रहेको प्रहरीले जनाएको छ । नेपालीमाथि थप आवश्यक अनुसन्धान जारी रहेको जानकारी दिइएको छ ।