परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले मुलुक फेरी एक पटक विकास संवृद्धि र आर्थिक रुपान्तरणको बाटोमा अघि बढ्ने बताउनु भएको छ । उहाँले सरकारले जनताको पक्षमा काम गरिरहेको अवस्थामा सरकार अस्थिरताको प्रयास कतै वाट पनि हुनुनहुने बताउनु भयो । कालिगण्डकी करिडोर अन्तरगत रिडी-रुद्रवेणी-हर्मिचौर सडकखण्डको स्तरोन्ती तथा कालोपत्रे गर्ने कामको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले उक्त कुरा बताउनु भएको हो ।
परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले शनिबार रुरु क्षेत्र गाउँपालिका १ को रिडीमा शिलान्यास गर्नु भएको छ । कालोपत्रे निर्माण कार्यको शिलन्यास गर्दै मन्त्री ज्ञवालीले कालिगण्डकी करिडोर कुनै जिल्ला बिषेशको मात्रै नभएर देशकै समृद्धिको मार्ग भएको बताउनु भयो । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीलेभारत र चिन जोडने करिडोरले बिचमा पर्ने जिल्लाका नागरिको आर्थिक तथा सामाजिक जीवनमा ठुलो प्रभाव पार्ने बताउनु भएको हो । ज्ञवालीले निर्माण व्यावसायीलाई सम्झौता अनुसार काम गर्न आग्रह समेत गर्नु भएको छ । उहाँले कामको सम्झौता गरेर विभिन्न बहाना बनाएर उम्कने प्रयास गर्ने निर्माण व्यावसायीलाई कानुन अनुसार कारबाही गर्ने बताउनु भयो ।
कालिगण्डकी करिडोर सडक योजना पाल्पा र शर्मा सगुन जेविबिच ०७७ भदौ १६ गते सडक कालोपत्रेको सम्झौता भएको आयोजना प्रमुख सुवोध कुमार देवकोटाले जानकारी दिनु भएको छ ।उक्त निर्माण कम्पनीले ५५ करोड ३० लाख ५३ हजार ८ सय ३५ रुपैयाँ २२ को लागतमा ३० महिनाभित्र कालोपत्रेको काम सम्पन्न गर्ने भएको छ । सम्झौता अनुसार सडकको ११ मिटर चौडाई, आठ मिटरको डवल लेन, एक मिटर चौडाईको नाली, दुई मिटर भाग सोल्दर छ । कालिगण्डकी करिडोर सडक योजना मार्फत नवलपुर, पाल्पा, गुल्मी, स्याङजा, पर्वत र वाग्लुङ गरेर ६ वटा जिल्लामा सडक निर्माणको काम भइरहेको छ । कालिगण्डकी गाउँपालिका प्रमुख बेदबहादुर थापाले रिडी आउन दुई दिन लाग्ने पुर्तिघाट र हर्मिचौरका नागरिक अहिले एक घण्टामा आउन थालेको बताउनु भयो । उहाँले करिडोरका कारण शाखा सडक पुगेका नागरिकहरुको पनि आर्थिक तथा सामाजिक स्थितीमा सुधार भएको बताउनु भएको छ ।