बुटवल । कोरोना संक्रमणका कारण बुटवलमा आईतबार दुईजनाको मृत्यु भएको छ । उनिहरु दुवै जनाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
यसरी मृत्यु हुनेमा रुपन्देहीको सैनामैनाबाट उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पुगेका एक जना पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल पुगेका सैनामैना १ का ५५ वर्षीय पुरुषको कोरोना बिशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
कोरोना पुष्टि भएलगत्तै कोरोना बिशेष अस्पताल पठाईएकोमा भेन्टिलेटरमा राख्दाराख्दै उनको मृत्यु भएको हो । उनमा उच्च रक्तचापको समेत समस्या रहेको थियो । यस्तै बुटवल उपमहानगरपालिका २ की ७० वर्षीया महिलाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । कात्तिक १६ गते कोरोना संक्रमण पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी महिलाको उपचारकैक्रममा मृत्यु भएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा कोरोना संक्रमणले मृत्यु हुने संख्या ८३ र लुम्बिनी प्रदेशमा १९७ पुगेको छ ।