भैरहवा । भैरहवाको बाल सुधार गृह बाट फरार भएका ६ जना मध्ये तीन जना कैदी–थुनुवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा गाईघाट नेपालटार ३ उदयपुरका २१ वर्षीय सिद्धार्थजंग लामा (सविन पौडेल), विरुवा गापा ४ स्यांङ्गजाका १७ वर्षीय अनिश थापा र बुटवल उपमनपा ८ का १८ वर्षीय राजेश सुनार रहेका छन् । अन्य तीन जनाको खोजी भइरहेको र छिट्टै पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक एसपी हृदय थापाले बताए । उनका अनुसार फरार भएका ६ जना भारत गएका थिए । पक्राउ परेकाहरुको साथबाट र उनीहरुले विक्री गरेको ६ थान मोबाइल समेत बरामद भएको उनले बताए । फरार भएका ६ जना मध्ये चार जना नेपाल आए र दुई जना भारततिरै अन्य शहर गएको अनुसन्धानमा पाइएको उनले बताए । नेपाल आएका चार जना मध्ये लामा, थापा मगर र घर्ती मगरलाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार लामालाई चितवनबाट, थापा मगरलाई पोखराबाट र घर्ती मगरलाई बुटवलबाट पक्राउ गरिएको हो ।
१८ वर्ष मुनीका पुरुष कैदी र थुनुवालाई भैरहवामा बालसुधार गृहमा राख्ने गरिएको छ । तर, पक्राउ परेका यी व्यक्तिहरुले आफुहरु बालिग रहेको स्विकार गरेका छन् ।
पक्राउ परेका तीन जनाहरुलाई बाल सुधार गृहमा पठाइएको र कारागार ऐन अन्र्तगत उनीहरुलाई थप कारवाहीको लागि प्रक्रिया अघि बढाइएकोले एसपी थापाले बताए ।