भैरहवा, १७ असोज ।
प्राणघातक रेबिज रोग विरुद्ध यति बेला रोट्रयाक्ट क्लब अफ भैरहवाले जनचेतनामुलक कार्यक्रम गरिहेको छ । क्लबले रेबिस सप्ताह अन्तर्गत जनचेतनामुलक ¥याली, सडक नाटक तथा सिद्धार्थनगर भित्र रहेका छाडा तथा घरपालुवा कुकुरहरुलाई रेबिज विरुद्धको सुइ लगाएको हो ।
सिद्धार्थनगर भित्र रहेका सम्पूर्ण छाडा कुकुरलाई व्यवस्थित गर्ने र नगरलाई रेबिज रोग मुक्त बनाउने अभियान अन्तर्गत कार्यक्रमको सुरुवात गरिएको रेबिज सप्ताह कार्यक्रमका संयोजक एवं रोट्रयाक्ट क्लब अफ भैरहवाका प्रथम उपाध्यक्ष कपिल चापागाईले बताए । रोट्रयाक्ट क्लब अफ भैरहवा र अन्तर्राष्ट्रिय भेटेनरी विद्यार्थी एशोशिएशन पक्लिहवाको संयुक्त अगुवाइमा कार्यक्रम गरिएको चापागाईले जानकारी दिए ।
हालसम्म घरपालुवा र छाडा गरी १ सय ३० वटा कुकुरलाई रेबिज विरुद्धको सुइ लगाइसकिएको रोट्रयाक्ट क्लब अफ भैरहवाले जनाएको छ ।
“रेबिजमुक्त नगर बनाउने अभियान मात्र होइन, छाडा कुकुरको व्यवस्थापन गर्ने हाम्रो लक्ष्य रहेको छ, निकट भविष्यमा सिद्धार्थनगर नगरपालिकासंग सहकार्य गरेर कार्यक्रमलाई अझ वृहत बनाउनेछौं, उनले भने ।” सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले स्वास्थ्यलाई समेत मध्यनजर गर्दै कार्यक्रम सम्पन्न गरेको उनको भनाइ छ ।
अन्तर्राष्ट्रिय भेटेनरी विद्यार्थी एशोशिएशन पक्लिहवाको तर्फबाट रेबिज सप्ताह कार्यक्रमका संयोजक रामशंकर रेबिज रोगबाट कुकुरहरु बचुन भन्ने उद्धेश्यले सिद्धार्थनगरका विभिन्न टोलका कुकुरहरुलाई रेबिज विरुद्धको सुई लगाइएको बताए । उनले रेबिज लागेको कुकुरलाई मानिसलाई टोके २४ घण्टा भित्र त्यो मानिसको उपचार गरिएन मानिसलाई पनि रेबिज लाग्ने बताए । अभियानमा क्लबका सदस्यहरुको पनि सक्रिय सहभागिता रहेको छ ।