रुपन्देही ३ असोज
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अधिकारमुखी आन्दोलन छाडेर समृद्धिको जनआकाक्षा सम्बोधन गर्ने बेला आएको बताएका छन । वुटवलमा भएको प्रदेशस्तरीय संविधान दिवस समारोहलाई बुधबार सम्बोधन गर्दै उनले नयाँ संविधानपछि मूलूक राजनितिक दुश्चक्रबाट बाहिर आएको बताए ।
संविधान अनुसार तीनै तहमा जननिर्वाचित प्रतिनिधिहरुले तहगत सरकारको नेतृत्व सम्हालेदेखि संघीयताको व्यवहारिक कार्यान्वयन शुरु भएको बताए ।
उनले प्रदेश सरकार योजनाबद्ध विकास गर्ने कोसीसमा रहेको बताए । उनले यो बर्ष प्रदेशको आवधिक योजना तर्जुमा गर्ने र आवश्यक कानुनहरु निर्माण गर्ने बर्षको रुपमा अघि बढाउने बताए । मुख्यमन्त्री पोखरेलले संविधानले सोहीबाटोतर्फ अघि बढ्न निर्देश गरेको भन्दै राष्ट्रिय एकता र अखण्डता कायम गर्दै अघि बढ्ने प्रण गरे ।
प्रदेश सरकारको आयोजना तथा बुटवल उपमहानगरको समन्वयमा भएको संविधान दिवस मूल समारोह अघि बुटवलमा ¥याली निकालिएको थियो । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय दरबार मार्गबाट शुरु भएको प्रभातफेरिले बुटवल नगर परिक्रमा गरेको थियो ।
प्रभातफेरिमा प्रदेश ५ का प्रमुख, मुख्यमन्त्री, सभामुख, मन्त्रीहरु, सांसदहरु, सरकारी उच्च पदस्त कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी तथा बुटवल उपमहानगर सहितका बिभिन्न संघसंस्थाहरुले सहभागिता जनाएका थिए । प्रभातफेरि पश्चात बुटवल बहुमुखी क्याम्पसमा भएको विशेष समारोह गरिएको थियो ।
संविधान दिवसका अवसरमा प्रदेश सरकारले तीन दिने विविध कार्यक्रम राखेको छ । दिवसको अवसरमा मंगलबार साझ बुटवलमा दीप प्रज्वलन गरिएको थियो । प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु झिलिमिली बत्तीहरुले सजाएको छ ।