रुपन्देही ३ असोज
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कम्यूनिष्ट कहिल्यै पनि लोकतन्त्रवादी हुन नसक्ने बताएका छन । नेपाल प्रेस यूनियन रुपन्देहीको २० औं साधारणसभा तथा आठौं अधिवेशनलाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता केसीले सरकार निरकुश बन्दै गएको बताए ।
‘
अमिलो रोपेर सुन्तलाको आश गर्नुहुँदैन, कम्यूनिष्टबाट लोकतन्त्र आउँदैन’ उनले भने । उनले स्वतन्त्र प्रेस र न्यायलयमाथि सरकारले हस्तक्षेप गर्नु त्यसको परिणाम भएको बताए ।
उनले दुई तिहाईको सरकारले डराएर प्रेसलाई अंकुश लगाएको बताए । पूर्वमन्त्री समेत रहेका केसीले प्रेस स्वतन्त्रता कुण्ठित भए लोकतन्त्र पनि नहुने बताए ।‘प्रेसलाई नियन्त्रण गर्नु भनेको जनतालाई सूचनाको हकबाट बञ्चित गराउनु हो’ उनले भने ।
नेपाली काँग्रेस लोकतन्त्रको पक्षधर भएकाले प्रेस स्वतन्त्रता कुण्ठित गरिए कडा प्रतिवादमा उत्रने बताए । पत्रकारितालाई अझ शसक्त बनाउन आग्रह गर्दै काँग्रेस लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम चाल्न पछि नहट्ने बताए । उनले दुई तिहाईको सरकारले विकासको हावादारी सपना देखाएको आरोप लगाए ।
कार्यक्रममा नेपाल प्रेस यूनिका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले नागरिकको आवाजलाई कुढिठत गर्ने गरि आएको नयाँ मुलुकी ऐन तुरुन्त संशोधन गर्न माग गरे । उनले बहुमतको सरकारले प्रेसलाई विभिन्न वाहनामा कमजोर बनाउन खोजेको बताए ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति एंव पूर्व राज्यमन्त्री अब्दुल रज्जाकले साईबर क्रामका नाममा पत्रकारहरुलाई दुःख दिइएकाले सरकार निरकुश बन्न थालेको आरोप लगाए ।
कार्यक्रममा प्रेस यूनियनका पूर्व महासचिव शिव लम्साल, उपाध्यक्ष बाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी, प्रदेश ५ का सांसद निर्मला क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हरि लम्साल, पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदी, यूनिय रुपन्देही सभापति विक्रम खड्काले नयाँ मुलुकी ऐनले पत्रकारितालाई अंकुश लगाएर सेल्प सेन्सरसिपको अवस्था सृजना गरेको बताए ।
साधारणसभाकै अवसरमा जीपि कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार छवि पाण्डे पुरस्कृत भएका छन । नगद २५ हजार १ सय रुपैयाँ, सम्मानपत्रले पाण्डे पुरस्कृत भएका हुन ।