बुटवल, २८ भदौ
राष्ट्रिय जनमोर्चाका नेता पिताम्वर आचार्यको निधन भएको छ । बुटवल १३ बेलवास निवासी आचार्यको ७४ वर्षको उमेरमा निधन भएको हो । नेकपा मसालका नेतासमेत रहेका आचार्य विगत केही समयदेखि फोक्सोको क्यान्सरबाट पींडित थिए । नेकपा मासल भित्र प्रज्वलको नामबाट चिनिने आचार्यको आफ्नै निवासमा मंगलबार राती निधन भएको हो ।
उनको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टीको झण्डा ओडाई रुपन्देहीको मगरघाटमा दाहसंस्कार गरिएको छ । श्रदाञ्जली सभाको आयोजना गरी दाहासंस्कार गरिएको थियो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष वद्रे आलम, दुर्गानाथ खरेल लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम श्रदाञ्जली दिईएको थियो । श्रदाञ्जली कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चा उपाध्यक्ष वद्रे आलमले पिताम्बर आचार्यको निधनले समग्र कम्युनिष्ट आन्दोलनमा क्षति पुगेको बताए ।
उक्त श्रदाञ्जली कार्यक्रममा वामपन्थी नेता दुर्गानाथ खरेल, नेकपाका पुरुषोत्तम घिमिरे, नेकमा माओवादी क्रान्तिकारीका खुमानन्द भुसाल, नेपाली कांगे्रसका पुरुषोत्तम बस्याल, नयां शक्तिका कमल खनाल लगायतले बोल्दै स्व. नेताको जीवनी र उनले समाजमा पुराएको योगदानको प्रसंसा गर्दै श्रदाञ्जली अर्पण गरेका थिए ।
दीपक पौडलको सञ्चालनमा श्रदाञ्जली कार्यक्रम भएको थियो । प्यूठानको दाङवाङमा जन्मेका आचार्य अर्घाखांची हुदै बुटवलको बेलवासमा स्थायी रुपमा बस्दै आएका थिए । स्व. आचार्यका श्रीमती, दुई छोरा र एक छोरी छन् ।