व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले विगत पा“च वर्षमा विभिन्न स्रोतबाट प्राप्त गरेको रकम र खर्चको विवरण १५ दिनभित्र उपलब्ध गराउन लुम्बिनी विकास कोषलाई निर्देशन दिएको छ । समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री आनन्द पोखरेल, सचिव दिनेश थपलिया, कोषका सदस्यसचिव अजितमान तामाङलगायतलाई बोलाएर छलफल गरी कोषको ५ वर्ष यताको आम्दानी र खर्चको विवरण १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको हो ।
समितिले १० वर्षभन्दा लामो समयदेखि करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई प्रक्रिया पुर्याएर स्थायी गर्न तथा अब उप्रान्त करार र ज्यालादारीमा कर्मचारी भर्ना नगर्न पनि कोषलाई निर्देशन दिएको छ । यसैगरी आफ्ना कामकारवाहीलाई परिणाममुखी र पारदर्शी बनाइ उद्देश्यअनुसार काम गर्न पनि समितिले लुम्बिनी विकास कोषलाई निर्देशन दिएको छ ।
समितिले कोषभित्रको भ्रष्टाचारको छिटोभन्दा छिटो छानविन गरी भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तथा कोषको ऐन एक महिनाभित्र संशोधन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले कोषको संयुक्त राष्ट्रसंघमा रहेको अन्तर्राष्ट्रिय समितिलाई क्रियाशील तुल्याइ लम्बिनी र गौतम बुद्धबारे विश्वव्यापी प्रचार गर्न तथा आगामी जेठ ८ गते बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न मन्त्रालयलाई निर्देशन दिएको छ ।