प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर प्रदर्शन गरेका छन । पार्टीका १८ शुभेच्छुक संस्थाले सबै जिल्लामा सरकार विरुद्ध एकैपटक विरोध प्रदर्शन गरेका हुन । रुपन्देहीमा बुटवलको राजमार्ग चौराहामा बिरोध प्रदर्शन भएको छ । शुभेच्छुक संस्थाका नेता कार्याकर्ताले राजमार्ग चौराहादेखी मिलनचोकसम्म बुटवल भैरहवा साइटतर्फको सडकको लेन पुरै ओगटेर बिरोध प्रदर्शन गरे । उनीहरूको प्रदर्शनले बुटवलको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बनेको थियो । सवारी साधनहरूलाइ अर्को साइडबाट गुडाइएको थियो ।
मुखमा कालो माक्स,हातमा कालो पट्टी बिभिन्न प्ले कार्ड र व्यानर सहित उनीहरू सडकमा उत्रिएका हुन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा संसद विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन उत्रिरहेको हो । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम भन्दै आन्दोलित कांग्रेसको तेस्रो चरण आन्दोलन गरिरहेको छ ।
नेपाली कांग्रेसले यसअघि पुस १३, पुस २५, माघ ३, माघ ८ र माघ १९ मा विभिन्न तहमा विरोध कार्यक्रम गरेको थियो । कांग्रेसले यसपछि फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकैसाथ सशक्त प्रदर्शनको कार्यक्रम तय गरिसकेको छ ।