परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कहिल्यै तृप्त नहुने महात्वाकांक्षाले गर्दा अहिलेको स्थिति आएको बताएका छन् । उँहाले केही नेताहरु जति पटक अध्यक्ष, प्रधानमन्त्री भएपनि घुमिफिरी चाहिने भएकाले समस्या आएको बताउँनुभयो ।
नेपाल पत्रकार महासंघले तानसेनमा शनिबार राखेको पत्रकार भेटघाटमा उँहाले महाधिवेशनबाट अध्यक्ष निर्वाचित गर्दा नमानेपछि ताजा जनादेशबाट नेतृत्व हस्तान्तरण दर्ता पनि नभएर अहिले जनताको हातमा फैसला आएको बताउँनुभयो ।
मन्त्री ज्ञवालीले फैसला अब जनताको कोर्टमा आएको बताउँदै अब जनताले नै फैसला गर्नेसमेत बताउँनुभयो । उँहाले राष्ट्रिय राजनीति अहिलेको अवस्थामा आइपुग्दा दुःख लागेको बताउँनुभयो । उँहाले सडकमा गएको नेकपा दाहाल नेपाल समूह र विपक्षी दललाई विरोधका कार्यक्रम स्थगित गरेर निर्वाचनमा जान आग्रहसमेत गर्नुुभयो ।
उँहाले अब निर्वाचन अभियानमा जानुको विकल्प नभएको बताउंदै व्यक्ति, संस्थाको लोकप्रियताको मापन गर्ने थलो निर्वाचन नै भएको बताउँनुभयो ।