लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंका मिडियाले निराशा मात्रै बाँडेको भन्दै त्यसवाट भ्रमित नहुन सर्वसाधारणलाई आग्रह गर्नु भएको छ । बिहीवार दाङको पातुखोलामा पुलको सिलन्यास गर्दै मुख्य मन्त्री पोखरेलले अहिलेको सरकारले विकाश निर्माणका काम तीव्र रुपमा गरिरहेको भएपनि काठमाडौंमा रेडियो, टिभीले निराशा मात्रै बाँडेको दोषारोपन गर्नु भएको हो ।
यसअघि पनि मुख्य मन्त्री पोखरेल जहाँ पुगेपनि मिडियाको चर्कौ आलोचना गर्दै आउनु भएको छ । मुख्य मन्त्री पोखरेलले सुकुम्बासी र अव्यवस्थित बसोबास व्यवस्थित गर्ने प्रक्रिया ढिलो भयो भन्ने भएपनि त्यो कामपनि अब छिट्टै अगाडि बढ्ने आश्वासन बाँड्नु भएको छ ।
प्रधानमन्त्रीका विश्वास पात्र मानिने मुख्य मन्त्री पोखरेलले नेकपा भित्रको बिवाद र त्यसको समाधानको उपाएका बारेमा भने कुनै कुरा राख्नु भएन । बरु उहाँले दाङको देउखुरीमा राजधानी आयो र पश्चिम दाङ विकाशका दृष्टिकोणले पछि पर्छ कि भनेर चिन्ता नगर्न आग्रह गर्नु भएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं १० राइखलियान र तुलसीपुर ८ को टिकरी गाउँ जोड्नका लागि पातुखोलामा निर्माण हुन थालेको पुल दुई लेनको हो । ८ करोड ३१ लाख ६४ हजार २ सय २५ रुपैंयाको लागनमा पुल निर्माण हुन लागेको हो । पुलको लम्बाई ७० मिटर रहेको छ भने चौडाई १० मिटर रहेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको पुल २४ महिना भित्र सक्ने सम्झौता भएको छ । पुल निमाणर्को जिम्मा हिराचन/जलजला/जयमा स्वर्गद्धारी र जेभी कम्पनी दाङले लिएका छन ।
टिकरी राष्ट्रियसभा सदस्य कोमल वलीको पुर्खेउली गाउँ हो । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको अध्यक्षतामा भएको पुल शिलन्यास कार्यक्रममा राष्ट्रिय सभा सदस्य कोमल वली, प्रदेशसभा सदस्य डिल्ली चौधरीले मन्तब्य व्यक्त गरेका थिए ।