मापदण्ड विपरित सञ्चालित दाङका दशवटा क्रसर उद्योग बन्द गरिएको छ । तुलसीपुर क्षेत्रमा सञ्चालन हुँदै आएको गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्राली, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम बालुवा प्रशोधन उद्योग स्थानीय प्रशासनले बन्द गराएको हो ।
त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूणर्ागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएको दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिनु भयो । बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्दै आएका दशवटा क्रसर उद्योगहरु मंगलवारदेखि बन्द गराएको प्रजिअ आचार्यले बुद्ध टेलिभिजनलाई जानकारी दिनुभयो । अब उनीहरुले क्रसिङको काम गर्न नपाउने प्रअिज आचार्यले बताउनु भयो । तर, उहाँले अनुमति लिए अनुसार उनीहरुले बालुवा वासिङको काम भने गर्न पाउने जानकारी दिनुभयो । बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएका ती उद्योग सञ्चालकहरुले तोकिएको समय सीमा भित्र आँफै मेसनरी सामानहरु व्यवस्थापन गरी क्रसिङको काम बन्द गरेको प्रजिअ आचार्यले बताउनु भयो । जिल्लामा हाल सञ्चालनमा रहेका कुल २६ वटा मध्य १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द गर्नु परेको प्रजिअ आचार्यले बताउनु भयो । दाङमा १२ वटा क्रसर उद्योग दर्ता रहेको भएपनि जम्मा १० वटा मात्रै सञ्चालनमा रहेको स्थानीय प्रशासनले अनुगमन पछि जानकारी दिएको छ ।
जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योगहरु दर्ता छन् । तर, त्यसमध्य ६ वटा बन्द अवस्थामा रहेका छन् । गृह मन्त्रालयले कार्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रसोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो । सोही अनुरुप दाङमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीले कात्तिक अन्तिम सातादेखि मंसिर पहिलो हप्तासम्म जिल्लाका क्रसर उद्योगहरुको अनुगमन गरेको थियो । त्यसपछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योगहरु बन्द गर्न १५ दिनको समय सीमा तोकेको थियो । त्यही निर्देशन अनुसार ती उद्योहरु बन्द भएका हुन ।