देशका विभिन्न सहरहरुमा जस्तै गरि दाङको घोराहीमा पनि राजतन्त्रका पक्षमा र्याली निकालिएको छ ।घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न तिर मोटरसाईकल र कारसहितको र्याली सुरु भएको हो। झन्डै अढाई सय जति मोटरसाईकल र कारसहितको र्यालीले बजारका विभिन्न भागको परिकर्मा गरेको थियो ।र्यालीका सहभागिहरुले ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, गणतन्त्र धोका हो, हिन्दु राज्य सहितको राजतन्त्र चाहिन्छ,’ भन्ने जस्ता नाराहरु लगाएका थिए ।त्यो र्यालीका बीचमा ‘गणतन्त्र मुर्दाबाद’ भन्ने नाराबाजी पनि भएको सुनिन्थ्यिो । र्यालीका सहभागिहरुले राष्ट्रिय झण्डा बोकेका थिए । गृह प्रशासनले नै राजतन्त्रका पक्षमा हुने पर्दशन र र्यालीमा सहभागि नहुन आह्वान गरेता पनि घोराहीमा भएको पर्दशनमा प्रमुख दलका नाममा यसअघि चिरपरिचित अनुहारपनि सामेल भएका देखिन्थे । मुख्य गरि व्यापारिक क्षेत्रमा रहेका र प्रमुख दलहरु सत्तासिन नेपाल कम्युनिष्ट पार्टी, नेपाली काँग्रेसमा आवद्ध व्यापारीहरुको बाक्लै उपस्थिती र्यालीमा थियो ।‘देशभक्त नागरिक’को नामवाट भएको र्याली पछि घोराहीको तुलसीपुर चोकमा आएर कोण सभा गरेका थिए । कोणसभालाई सम्वोधन गर्नेहरुले ‘राजा विनाको देश रानी विनाको माहुरी समान’ बन्न पुगेको तर्क गरेका थिए ।
बक्ताहरुले यतिबेला मुलुक अभिभावक विहिन अवस्थाले छाडारुपमा सञ्चालन भइरहेको तथा देशमा लुटतन्त्र मच्चिएको दोषारोपन गरेका थिए ।त्यसैले शान्ति र अमन चैनका लागि राजा आउन अति आवश्यक रहेको उनीहरुको दाबी थियो । कार्यक्रमलाई भोलानाथ योगी, कुलबहादुर घर्ती, उमाकान्त भण्डारी, भानु केसी लगाएले सम्वोधन गरेका थिए ।प्रदर्शन सुरु हुनु भन्दा अगाडिदेखि नै घोराहीका चोक चोकमा प्रहरीको बाक्लै तैनाथी थियो ।