सडक निर्माण समयमै सम्पन्न नभएको भन्दै बेलहियामा चक्काजाम गरिएको छ । सात वर्ष हुँदा पनि साढे ७ सय मिटर सडक निर्माण नभएको विरोधमा बेलहिया गाउँ समाजको अगुवाइमा आइतबार चक्काजाम गरिएको हो ।
७ वर्ष भइसक्दा पनि इलाका प्रहरी कार्यालय बेलहियाको कार्यालयदेखि बाइपास सडकसम्मको सडक नबनेकोले सडकमा उत्रिएर विरोध प्रदर्शन र साढे २ घण्टा चक्काजाम गरिएको स्थानीय देवराज न्यौपानेले जानकारी दिनुभयो । सडक निर्माण कार्यमा ध्यान नदिए अबको दिनमा बेलहियामा रहेको भैरहवा भन्सार कार्यालयसहित सम्पूणर् सरकारी कार्यालय समेत ठप्प पार्ने न्यौपानेले चेतावनी दिनुभयो ।
सडकको विषयमा बारम्बार लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षण गराउँदा पनि स्थानीय प्रशासन र निर्माण व्यवसायीको ध्यान पुग्न नसकेको स्थानीय उज्जवल पोखरेलले जानकारी दिनुभयो । उँहाले पर्यटक भित्रिने प्रमुख नाका बेलहिया भनेर भाषण गरेर नथाक्ने तर सडक निर्माण सम्पन्न गर्नेतर्फ ध्यान नजानु दुःखद भएको प्रतिक्रिया जनाउँनुभयो ।
यता बुटवल बेलहिया व्यापारिक मार्ग निर्माण आयोजनाकी इञ्जिनियर शुवेच्छा सारुले निर्माण व्यवसायीले छठपछि सडक निर्माण कार्य सुरु हुने प्रतिबद्धता जनाए पनि काम सुरु नगरेको जानकारी दिनुभयो ।